काठमाडौं, असार १५ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै किसानको श्रमप्रति उच्च सम्मान प्रकट गरेका छन्।
शुभकामना सन्देशमा थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि नै सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गरेका छन्। उनले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानहरू राष्ट्रका अन्नदाता भएको बताएका छन्।
उनले असार १५ धान रोपाइँको दिन मात्र नभई किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गर्दै धान उत्पादन वृद्धि गर्नु खाद्य सुरक्षासँगै संविधानले प्रत्याभूत गरेको खाद्यसम्बन्धी मौलिक हकको कार्यान्वयनसँग पनि जोडिएको बताएका छन्।
थापाले हरेक वर्ष किसानले गुणस्तरीय बीउ, मल, सिँचाइ र उचित मूल्यको अभाव झेल्नुपरेको तथा नेपालको धान खेती अझै पनि वर्षा र आकाशे पानीमा निर्भर रहेको उल्लेख गरेका छन्। उनले जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप चुनौती सिर्जना गरिरहेको पनि बताएका छन्।
यस वर्षको राष्ट्रिय धान दिवसको नारा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” लाई सार्थक बनाउन आधुनिक तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार आवश्यक रहेको उनको भनाइ छ। यस्ता प्रविधिले धान उत्पादन बढाउनुका साथै चामल आयातमा निर्भरता घटाउन सहयोग पुग्ने उनले बताएका छन्।
शुभकामनाको अन्त्यमा थापाले सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारण तथा किसानले उचित मूल्य पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै कृषिलाई सम्मानित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।





