काठमाडौं, असार १६ । निरन्तरको वर्षा र मनसुनजन्य विपद्को जोखिम बढेसँगै कान्ति लोकपथ (हेटौंडा–काठमाडौं सडकखण्ड) मा दुई दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर र ललितपुरले सोमबार सार्वजनिक सूचना जारी गर्दै असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका हुन्।
प्रशासनका अनुसार भारी वर्षाका कारण पहिरो, सडक अवरोध, बाढी तथा नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले यात्रु र सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको हो।
मकवानपुर प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी तथा खोलानालामा हुने जोखिमपूर्ण गतिविधिबाट टाढा रहन, पहिरो र बाढीको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यस्तै, ललितपुर प्रशासनले मकवानपुर–सिस्नेरी हुँदै सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनलाई तोकिएको समयावधिभर सञ्चालन नगर्न निर्देशन दिएको छ। जोखिमको अवस्था मूल्याङ्कन गर्दै आवश्यक परे थप सूचना जारी गरिने प्रशासनले जनाएको छ।
प्रशासनले सम्भावित विपद्को अवस्थामा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न तथा सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।




