काठमाडौं, असार १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । असार १७ गते बुधबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराएका हुन् ।
चितवनको भरतपुरमा गत असार ७ देखि १२ गते सम्म सम्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्रीसहित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो । पुनः सभापतिमा निर्वाचित रवि लामिछानेले भने पहिले नै शपथ लिइसकेका थिए ।
रास्वपाको विधान अनुसार कुल १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा १०० जना महाधिवेशनबाट निर्वाचित र बाँकी ५१ जना सभापतिद्वारा मनोनीत हुने प्रावधान छ । कुल १९ पदाधिकारीमध्ये वरिष्ठ नेता, प्रवक्ता, कोषाध्यक्षसहित १३ वटा पदहरूमा भने अझै मनोनयन हुन बाँकी छ । समारोहमा शपथ ग्रहण गराएपछि सभापति लामिछानेले नवनिर्वाचित सदस्यहरूलाई उपहारस्वरूप पार्टीको चुनाव चिह्न ‘घण्टी’ हस्तान्तरण गरेका थिए ।




