दैलेख, असार १९ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी बिहीबार बिहान ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको छ। सडकबाट करिब ४०० मिटर तल खसेको गाडी र त्यसमा सवार यात्रुहरूको खोजीका लागि आज (शुक्रबार) बिहान ८ बजेदेखि गोताखोर टोली पुनः परिचालन गरिएको छ।
नदीमा पानीको सतह बढेको, बहाव तीव्र रहेको र पानी धमिलो भएका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बनेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी जयराज सापकोटाले जानकारी दिए। घटनास्थलमा सिधै जाने बाटो नभएकाले अछाम जिल्लातर्फबाट खोजी भइरहेको छ। दुर्घटनास्थलमा भिरमा अड्केको अवस्थामा उद्धार गरिएका एक पुरुषको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ, जसको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार गाडीमा चालक र सहचालकसहित आधिकारिक रूपमा ७ जना सवार रहेको अनुमान गरिएको छ। बेपत्ता यात्रु र गाडीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवण विकको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको ६ जनाको गोताखोर टोली र नेपाली सेना घटनास्थलमा खटिएका छन्।




