काठमाडौं, असार २२ । नेपाली विद्यार्थी संघ (नेविसंघ)ले सरकारको १०० दिनको कार्यकाललाई शिक्षा क्षेत्रका हिसाबले ‘अवसर गुमेको १०० दिन’ भएको टिप्पणी गरेको छ। सरकारको १०० दिनको कार्यकाल र शिक्षा क्षेत्रको वस्तुनिष्ठ समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा नेविसंघकी सभापति करुणा कटुवालले सरकारले शिक्षा क्षेत्रमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयो।
उहाँले सरकारको १०० दिनभित्र शिक्षा क्षेत्रमा संरचनागत सुधार, दलीय भागबण्डाको अन्त्य तथा विश्वविद्यालयको स्वायत्तता कायम गर्ने सङ्कल्प स्वागतयोग्य भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो। “नेपाल विद्यार्थी संघले यी विषयमा लामो समयदेखि आन्दोलन गर्दै आएको हो। तर सरकारले आफ्नै वाचा पूरा गर्न सकेन। सरकारप्रति विद्यार्थीमा देखिएको उत्साह अहिले निराशामा बदलिएको छ,” उहाँले भन्नुभयो।
नेविसंघले शिक्षा क्षेत्रमा भएका उपलब्धि, चुनौती र सरकारको कार्यसम्पादनबारे वस्तुनिष्ठ समीक्षा गर्दै आवश्यक सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।




