काठमाडौं, असार २३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पूर्वसन्ध्यामा नेपाली क्रिकेट क्षेत्रमा एक ठूलो व्यावसायिक साझेदारी भएको छ। एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ एनपीएलका ६ वटै फ्रेन्चाइज टोलीको मुख्य प्रायोजकका रूपमा जोडिएको छ।
सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, ६ वटै फ्रेन्चाइजका प्रतिनिधि तथा एग्रो थाई फुड्सकी बिजनेस हेड सोनिया राणाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो सहकार्यले नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको उज्ज्वल भविष्य र समग्र क्रिकेट संरचनालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। दसैंपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यस सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको बढ्दो आकर्षण र विश्वासलाई थप बलियो बनाएको उहाँको भनाइ थियो।
यस्तै, एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएलजस्तो प्रतिष्ठित प्रतियोगिताका सबै टोलीसँग जोडिन पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि गरिएको हो। आगामी दिनमा पनि हामी नेपाली खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिन प्रतिबद्ध छौँ।”
एक्स्ट्रिम इनर्जी ड्रिंक्स विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रूपमा लगानी गर्दै आएको ब्रान्ड हो। यो कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक समेत हो। क्रिकेटका अलावा फुटबल, भलिबल, म्याराथनलगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत कम्पनीले निरन्तर सहकार्य र प्रवर्द्धन गर्दै आएको छ।




