चितवन, असार २३ । धुर्बे हात्तीको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई भरतपुर महानगरपालिकाले राहत, रोजगारीको सुनिश्चितता तथा आवश्यक सहयोग उपलब्ध गराएको छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, वडा नं. २३ का अध्यक्ष दीपक दवाडी लगायत अन्य वडाध्यक्ष र महानगरका विभागीय प्रमुखहरूको टोलीले घटनास्थल पुगेर शोकसन्तप्त परिवारसँग भेट गर्दै समवेदना व्यक्त गरेको हो।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगर सधैं नागरिकको दुःख–सुखमा साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नयाँ नीति, प्रभावकारी योजना र दीर्घकालीन रणनीतिसहित अघि बढ्ने बताउनुभएको छ। यस्ता दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग तीव्र समन्वय गरिने उल्लेख गर्दै महानगरपालिकाले पीडित परिवारको घाउमा मलम लगाउन तत्काल र दीर्घकालीन सहयोगको घोषणा समेत गरेको छ। जसअन्तर्गत पीडित परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको सुनिश्चितता गरिनेछ भने तत्काल राहतस्वरूप परिवारलाई करिब ४ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको खाद्यान्न र आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको छ।
कार्यवाहक प्रमुख अधिकारीले महानगरका सबै जनप्रतिनिधि जनताको सेवामा निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले घटनापछि राहत, उद्धार र समन्वयमा चौबीसै घण्टा खटिएर उदाहरणीय भूमिका निर्वाह गरेको भन्दै वडा नं. २३ का अध्यक्ष दीपक दवाडीको कार्यको समेत खुलेर प्रशंसा गर्नुभयो।
धुर्बे हात्तीको आक्रमणपछि त्रसित बनेका स्थानीयलाई थप सुरक्षाको अनुभूति गराउन तथा प्रभावित परिवारलाई दीर्घकालीन पुनःस्थापना गर्न महानगरले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।




