टोकियो, असार २३ । नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशनबाट राजेन्द्र जमरकट्टेल सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको छ। नेपालको तनहुँमा जन्मिएर हाल चितवन भरतपुर–४ का स्थायी बासिन्दा रहेका जमरकट्टेलको चयनलाई प्रवासी नेपाली समुदायले उनको लामो राजनीतिक अनुभव र संगठनप्रतिको समर्पणको सम्मानका रूपमा लिएका छन्।
विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिमा सक्रिय जमरकट्टेल पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघ स्थापनाका संस्थापक सदस्य हुनुहुन्छ। उहाँ लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएको परिवारबाट आउनुभएको हो। उहाँका पिता, तत्कालीन नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष स्वर्गीय विष्णु जमरकट्टेलको वि.सं. २०५७ सालमा माओवादी सशस्त्र द्वन्द्वका क्रममा हत्या भएको थियो।
जापान प्रस्थान गरेपछि पनि संगठनमा निरन्तर सक्रिय उहाँले केन्द्रीय सदस्य, प्रवक्ता, महामन्त्री र उपसभापति जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक सम्हालिसक्नुभएको छ। उहाँको यो सर्वसम्मत चयनले जापानस्थित नेपाली समुदाय र लोकतन्त्रप्रेमी प्रवासीहरूबीच एकता, सहकार्य र संगठनलाई थप गतिशील बनाउने विश्वास लिइएको छ।




