काठमाडौं, असार २६ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत नलैजाने भएको छ। वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर भएकाले स्थानान्तरण गर्दा जोखिम हुने चिकित्सकहरूको सुझावपछि सरकारले यो निर्णय गरेको हो।
नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। उनको रक्तचाप नियन्त्रणमा राख्न र अवस्था स्थिर बनाउन विशेष औषधिहरू चलाइँदै छ। सरकारले उनलाई दिल्लीस्थित ‘एम्स’ अस्पताल लैजान एयर एम्बुलेन्ससहित सम्पूर्ण तयारी पूरा गरेको थियो। सम्पूर्ण उपचार खर्च सरकारले नै ब्यहोर्ने निर्णय गरिसकेको छ। उनको जीवन रक्षाका लागि वीर अस्पतालका डा. पियुष दाहालको नेतृत्वमा २१ जना स्वास्थ्यकर्मीको विशेष टोली निरन्तर खटिएको छ।
गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू रातभरदेखि वीर अस्पतालमै तयारी अवस्थामा खटिएका छन्। अवस्था स्थिर भएपछि मात्र उनलाई थप उपचारका लागि भारत लगिनेछ।




