काठमाडौं, असार २६ । काठमाडौँको जोरपाटीस्थित माकलबारीमा शुक्रबार बिहान गुडिरहेको गाडीमा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको दुखद निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, गुडिरहेको गाडीमा राखिएको सिलिन्डर विस्फोट भएपछि त्यसका टुक्राहरू सडकमा चारैतिर उछिट्टिएका थिए। सोही क्रममा उछिट्टिएको सिलिन्डरको एउटा टुक्राले गुडिरहेको स्कुटरका चालकलाई लागेको थियो। टुक्राको गम्भीर चोटका कारण उनी सडकमै ढलेका थिए।
विस्फोटको टुक्रा लागेर गम्भीर घाइते भएका स्कुटर चालकलाई तत्कालै उद्धार गरी उपचारका लागि नजिकैको नेपाल मेडिकल कलेज, जोरपाटी पुर्याइएको थियो। तर चोट गम्भीर भएका कारण चिकित्सकहरूले उनलाई बचाउन सकेनन्। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने व्यक्ति ४६ वर्षीय विष्णु थापा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार मृतक थापाको स्थायी घर बागलुङ हो भने उनी हाल काठमाडौँको माकलबारीमै बस्दै आएका थिए।
सडकमा गुडिरहेको सवारी साधनमा अक्सिजन सिलिन्डर कसरी र के कारणले विस्फोट भयो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। प्रहरीले विस्फोटको यथार्थ कारण पत्ता लगाउन घटनास्थलको प्राविधिक जाँचसहित घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ।




