काठमाडौं, असार २८ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको १०औं मिनेटमा लियोनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए पनि ६७औं मिनेटमा स्विट्जरल्यान्डका डान एनडोयेले खेल १–१ को बराबरीमा ल्याए। ७२औं मिनेटमा ब्रेल एम्बोलोले रातो कार्ड पाउँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सङ्कुचित भयो। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले थप दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
इतिहासमा सातौंपटक सेमिफाइनल पुगेको तीन पटकको विश्वविजेता अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डको सामना गर्नेछ र योसँगै विश्वकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ।




