काठमाडौँ, असार ३० । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कुटपिटबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पतालमा भेटेका छन्।
अन्सारीको स्वास्थ्य अवस्था बुझेपछि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै महतोले मध्यरातमा विनापुर्जी नियन्त्रणमा लिएर ‘मधेसी’ भन्दै नश्लीय गालीगलौज र निर्घात कुटपिट गरिएको दाबी गरे। मधेसी प्रधानमन्त्री (बालेन्द्र शाह) भएको समयमा पनि पहिचान र भूगोलका आधारमा आफ्नै नागरिकमाथि यस्तो दमन हुनु राज्यको निरंकुश चरित्रको पराकाष्ठा भएको महतोको भनाइ छ।
महतोले अन्सारीलाई कुन कानुनी आधारमा पक्राउ गरी दुर्व्यवहार गरियो भन्नेबारे तत्काल स्पष्टीकरण दिन माग गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही र घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन्।




