रुकुम पूर्व, साउन ३ । रुकुम पूर्व जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार अपराह्न भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ४:२० बजे रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वका साथै आसपासका छिमेकी जिल्लाहरूमा समेत ठूलो धक्का महसुस गरिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। अपराह्नको समयमा धक्का महसुस भएपछि सर्वसाधारणहरू त्रसित हुँदै घरबाहिर निस्किएका थिए।
भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ। सम्भावित क्षतिको विवरण संकलन र अवस्थाको अनुगमनका लागि सम्बन्धित निकाय तथा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।




