काठमाडौं, साउन ४ । थाइल्यान्डमा सम्पन्न ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले १६ राष्ट्रलाई पछि पार्दै ३ स्वर्ण र १ रजत पदक जितेर ऐतिहासिक सफलता हासिल गरेको छ।
राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार ‘एनडिए जुनियर’ले जुनियर मेघा क्रु र टिन्स विधामा दुई स्वर्ण तथा जुनियर क्रुमा एक रजत जितेको हो। यस्तै, ‘टिम एनटी’ले लोक नृत्य विधामा एक स्वर्ण पदक जितेको छ भने खुला विधामा नेपाल चौथो स्थानमा रह्यो।
नेपाली टोली हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर थाइल्यान्ड पुगेको हो। प्रतियोगिता हेर्न पुगेकी नायिका परीक्षा लिम्बुले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली डान्सरहरूको प्रदर्शनको निकै तारिफ भएको बताइन्।
यसपटक नेपालका चर्चित डान्स डिरेक्टर तथा कोरियोग्राफर जेडी तमू अन्तर्राष्ट्रिय निर्णायकको भूमिकामा रहेका थिए। उनीसँगै न्युजिल्यान्डकी काया पियर्स लगायतका निर्णायकहरूले प्रतिस्पर्धीहरूको मूल्यांकन गरेका थिए।




