काठमाडौं, साउन ४ । नेपाली कांग्रेसले बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले बीपीको वातावरणीय दूरदर्शितालाई आत्मसात् गर्दै विश्वव्यापी जलवायु संकटविरुद्ध यो अभियान सुरु गरिएको बताउनुभयो।
अभियानअन्तर्गत साउन ६ गते बिहान ललितपुरको युएन पार्कबाट ५ किमी र २.५ किमीको ‘ग्रिन रन’ आयोजना गरिनेछ, जसको सहभागी संख्याका आधारमा बाढीपहिरो प्रभावित सुकुम्बासी बस्तीका बालबालिका र ज्येष्ठ नागरिकका लागि ‘मानवीय सहयोग कोष’ बनाइनेछ। सोही दिन जावलाखेलमा विज्ञहरूसँग ‘ग्रिन टेबल’ संवाद, २० जना चित्रकारबाट ‘लाइभ पेन्टिङ’ र बिरुवा वितरण गरिनेछ। साउन ७ गते राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीमा महामन्त्री गगन थापाले नयाँ अभियानको घोषणा गर्नुहुनेछ। कांग्रेसले पृथ्वी र हिमाल जोगाउने यस साझा एजेण्डामा ऐक्यबद्धता जनाउन सबैलाई अपिल गरेको छ।




