काठमाडौं, साउन ५ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झालगायत सहभागी हुने सो भेटघाटमा तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित रहेर छलफल हुनेछ।
निजी क्षेत्र तथा उद्योगी-व्यवसायीहरूसँग निरन्तर संवाद गर्दै आएका प्रधानमन्त्री शाहले आजको छलफलमार्फत नीतिगत सुधारका सुझावहरू संकलन गरी व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तयारी गरेका छन्।




