काठमाडौं, साउन ८ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिवको नियुक्ति तथा व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, जवाफदेही र योग्यतामा आधारित बनाउन नयाँ आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट मात्रै नियुक्ति गरिने व्यवस्था गरेको हो।
पार्टीका महामन्त्री विपिन कुमार आचार्य ले शुक्रबार जारी गरेको निर्देशनमा स्वकीय सचिव नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता, क्षमता र नैतिक आचरणलाई अनिवार्य आधार बनाइएको उल्लेख छ। साथै, महिला, सीमान्तकृत तथा पिछडिएका समुदायका योग्य उम्मेदवारलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
निर्देशनअनुसार नियुक्त स्वकीय सचिवले अन्यत्र पूर्णकालीन रोजगारी गर्न वा दोहोरो सुविधा लिन नपाउने, हितको द्वन्द्व हुने अवस्था स्वीकार्य नहुने तथा आर्थिक पारदर्शिता कायम गर्नुपर्नेछ। उनीहरूको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरिने, गोपनीयता कायम गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन गरेमा कारबाहीदेखि पदमुक्तिसम्मको व्यवस्था गरिएको छ।
रास्वपाले सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यले उक्त आन्तरिक निर्देशन लागू गरिएको जनाएको छ।


