काठमाडौं, साउन ८ । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ता लाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिवाना बुझाएको प्रहरीले जनाएको छ। सार्वजनिक पदमा रहेर ट्राफिक नियम उल्लंघन गरेको भन्दै आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन्।
उनले बाल्यकालको सम्झनामा रमाइरहेका बेला मजाकमै भिडियो बनाउने क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।




