रौतहट, साउन ८ । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा धारिलो हतियार (खुकुरी) प्रहार गरी एक महिलाको हत्या गरिएको छ।
शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४५ वर्षीया रेनु देवी जयसवालमाथि खुकुरी प्रहार भएको हो। हतियार प्रहारबाट गम्भीर घाइते भएकी जयसवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही घर भई हाल सोही टोलमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारलाई नियन्त्रणमा लिएको छ।
घटनालगत्तै क्रुद्ध बनेका स्थानीयवासीको कुटपिटबाट आक्रमणकारी उपेन्द्र गम्भीर घाइते भएका छन्। उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।
हत्याको कारण अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।




