काठमाडौं, साउन ८ । कथावाचिका राधिका दासीको चरित्रहत्या र सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा पक्राउ परेकी वेदिका केसी चौबीस घण्टा नबित्दै थुनामुक्त भएकी छन्। साइबर अपराधको आरोपमा बिहीबार प्रहरी फन्दामा परेकी केसी अदालतको एकदिने म्यादका कारण बिहीबार राति नै हाजिर जमानीमा छुटेकी हुन्।
राधा दासीको किटानी जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले केसीमाथि कारबाही अघि बढाएको थियो। अनुसन्धानको सुई तिखार्न प्रहरीले काठमाडौँ जिल्ला अदालतसँग १० दिनको हिरासत म्याद मागेको थियो। तर, अदालतले प्रहरीको दाबीमा उदारता नदेखाउँदै जम्मा ‘एक दिन’को मात्र अनुमति दिएपछि ब्यूरोलाई रातारात केसीलाई छाड्नुपर्ने स्थिति बन्यो।
म्याद सकिएलगत्तै रिहा भएकी केसीलाई अनुसन्धानको निरन्तरता स्वरूप शुक्रबार बिहान काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। थुना बाहिरै रहे पनि उनीमाथिको विद्युतीय कसुरसम्बन्धी अनुसन्धान र प्रमाण सङ्कलनको काम भने जारी नै रहेको प्रहरीले जनाएको छ।


