काठमाडौं, साउन ८ । दक्षिण-पूर्वी एसियाली मुलुकहरूमा वैदेशिक रोजगारीको लोभ देखाएर सञ्चालित अवैध ‘अनलाइन स्क्यामिङ सेन्टर’ नेपाली युवाहरूका लागि डरलाग्दो पासो बन्दै गएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमावर्ती क्षेत्रबाट हालसम्म ८ सय ६० जना बन्धक नेपालीको उद्धार गरिसकिएको छ, जसमा सबैभन्दा बढी कम्बोडियाबाट ७३३ र म्यानमारबाट ११३ जना रहेका छन्। अझै पनि ४९ जना नेपाली कम्बोडियाका जेलमा सजाय काट्न बाध्य छन् भने कतिपय उद्धारको प्रक्रिया पूरा हुँदा पनि स्वदेश फर्कन अनिच्छुक देखिनुले स्थिति झनै जटिल बनेको छ।
यस गम्भीर अवस्थालाई नियन्त्रण गर्न मन्त्रालयले चारबुँदे विशेष आग्रह जारी गर्दै पीडित परिवारलाई ठगीमा संलग्न व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिन, फर्कन नमान्नेहरूलाई सम्झाउन र जरिवाना छुट भइसकेकाहरूलाई तत्काल स्वदेश फर्कन अपिल गरेको छ। साथै, जेलबाट छुटाइदिने बहानामा रकम ठग्ने गिरोह सक्रिय रहेकाले त्यस्ता भ्रममा नपरी कन्सुलर सेवा विभागसँग मात्र सम्पर्क गर्न र यस्ता अवैध वैदेशिक रोजगारीबारे निरन्तर जनचेतना फैलाउन मन्त्रालयले जोड दिएको छ।




