चितवन , साउन १० । चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारले वर्षौँको प्रतीक्षापछि जग्गाको कानूनी स्वामित्व प्राप्त गरेका छन्। राष्ट्रिय भूमि आयोग (जिल्ला भूमि समस्या समाधान समिति) चितवनले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) हस्तान्तरण गरिएको हो।
लामो समयदेखि भोगचलन गर्दै आए पनि कानूनी कागजातको अभावमा अन्योलमा परेका स्थानीयहरू हातमा लालपुर्जा थपिएसँगै हर्षित भएका छन्। आफ्नै नाममा जग्गाको स्वामित्व कायम भएपछि उनीहरूको वर्षौँदेखिको सपना पूरा भएको छ।
सरकारले भूमिहीन तथा अव्यवस्थित बसोवासीको मुद्दालाई प्राथमिकतामा राख्दै देशभर पुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ। सोही अभियानअन्तर्गत इच्छाकामनामा नापजाँच र आवश्यक प्रमाणीकरण सकिएका वास्तविक भूमिहीनहरूलाई पहिलो चरणमा पुर्जा उपलब्ध गराइएको हो।
बाँकी रहेका अन्य वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको कागजात र नापजाँच प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा लालपुर्जा वितरण गरिने समितिले जनाएको छ।




