काभ्रे, साउन १० । काभ्रेको धुलिखेलस्थित ‘हिमालय दृश्य रिसोर्ट’को स्वीमिङ पुलमा करेन्ट लाग्दा एक युवकको दुःखद निधन भएको छ। शुक्रबार बेलुकी पौडी खेल्ने क्रममा करेन्ट सट भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० का २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको हो।
पौडी खेलिरहेका बेला अचानक स्वीमिङ पुलभित्रै करेन्ट प्रवाह भएपछि प्रधानको घटनास्थलमै ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाहरू रिसोर्ट व्यवस्थापनको चरम लापरबाहीका कारण दुर्घटना भएको भन्दै आक्रोशित बनेका थिए। रिसोर्ट परिसरमा स्थिति तनावपूर्ण बनेपछि सम्भावित अप्रिय घटना रोक्न धुलिखेल क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थिए।
पीडित परिवारले रिसोर्टको गम्भीर लापरवाहीका कारण युवकको अकालमा ज्यान गएको आरोप लगाउँदै सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। हाल घट्नाको निष्पक्ष अनुसन्धान, क्षतिपूर्ति तथा कानुनी प्रक्रियाका विषयमा पीडित पक्ष, रिसोर्ट व्यवस्थापन र स्थानीय प्रशासनबीच छलफल भइरहेको काभ्रे प्रहरीले जनाएको छ।




