बागलुङ, साउन १० । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आरोपमा प्रहरीले उनका चार जना साथीहरूलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्थानीय सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन रहेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आइफोनको विषयलाई लिएर भएको सामान्य विवाद बढेपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको छ।
साउन १ गते राति लजिन साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरू मिलेर मध्यरातिसम्म मादक पदार्थ सेवन गरेको र सोही क्रममा आइफोनका विषयमा विवाद भएको अनुसन्धानमा देखिएको छ।
लजिन घर नफर्किएपछि साउन २ गते परिवारले इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा र स्थानीयवासीको सहयोगमा खोजतलास तीव्र पारिएको थियो।
खोजतलासका क्रममा साउन ९ गते बिहान ९:१५ बजे बडिगाड–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
सुरुमा ‘व्यक्ति बेपत्ता पार्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले शव फेला परेसँगै पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ।




