चितवन, साउन १२ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको गम्भीर आक्रमणको विरोधमा चितवनका अस्पतालहरूमा स्वास्थ्य सेवा ठप्प पारिएपछि ११ हजारभन्दा बढी बिरामी प्रभावित भएका छन्।
गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा भएको मृत्युलाई लिएर चिकित्सकको लापरवाहीको आरोप लगाउँदै उनीमाथि आक्रमण गरिएको थियो। यस घटनाको विरोधमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज र २३ वटा साना निजी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा बन्द गरिएको हो।
अचानकको बन्दका कारण मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घरोगीका बिरामीले औषधि समेत पाउन नसकी चरम सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। कार्यस्थलमा स्वास्थ्यकर्मीको सुरक्षा र दोषीमाथि कारबाहीको माग गर्दै गरिएको यो आन्दोलनले नियमित स्वास्थ्य सेवा लिन आएका आम नागरिकलाई गम्भीर मर्कामा पारेको छ।




