काठमाडौं, साउन १३ । आज आषाढ शुक्ल पूर्णिमा, ज्ञान र शिक्षा प्रदान गर्ने गुरुजनप्रति उच्च सम्मान भाव प्रकट गर्दै देशभर ‘गुरु पूर्णिमा’ पर्व भव्य रूपमा मनाइँदैछ । यस दिन विद्यार्थी तथा विभिन्न सङ्घसंस्थाले आफ्ना गुरुजनलाई श्रद्धा, भक्ति र कृतज्ञता अर्पण गर्ने गर्दछन् ।
संस्कृत शब्द ‘गु’ को अर्थ ‘अन्धकार’ र ‘रु’ को अर्थ ‘प्रकाश’ हुन्छ। अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूपी प्रकाश छर्ने व्यक्ति नै गुरु हुन् भन्ने शास्त्रीय मान्यता छ। सनातन धर्मशास्त्र तथा तन्त्रशास्त्रमा गुरुलाई ब्रम्हा, विष्णु र महेश्वरकै रूपमा सम्मान गरिएको छ:
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ॥
मातापिता सरह नै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ (गुरुलाई देवता मान्नु) भनी उच्च मर्यादा दिइएको छ। यसै परम्पराअनुसार आज देशभरका गुरुकुल, विद्यालय, क्याम्पस तथा शैक्षिक प्रतिष्ठानहरूमा विभिन्न कार्यक्रम आयोजना गरी गुरुप्रति सम्मान प्रकट गरिँदैछ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा तिनको सरल अर्थ बुझाउन १८ पुराण र १८ उपपुराणका रचनाकार महर्षि वेद व्यासको जन्म भएको थियो। यसैले यस दिनलाई ‘व्यास जयन्ती’ का रूपमा पनि मनाइन्छ।
महर्षि वेद व्यासले १८ पुराणको सारलाई दुईझैँ वाक्यमा समेट्दै मानवतावादी सन्देश दिनुभएको छ:
‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्।
परोपकारः पुण्याय पापाय परपीडनम्॥’
(अर्थात्: अरूको उपकार गर्नु नै पुण्य हो र अरूलाई पीडा दिनु नै पाप हो।)
साथै, हिन्दू धर्ममा पाँचौँ वेदसमेत मानिने महाकाव्य महाभारत र श्रीमद्भागवत महापुराणको रचना पनि वेद व्यासले नै गर्नुभएको हो। यसैकारण आजको दिनलाई गुरु र व्यास ऋषिको स्मरण गर्दै ज्ञान, परोपकार र सत्कर्मको मार्गमा हिँड्ने प्रेरणा लिने विशेष पर्वका रूपमा लिइन्छ।




