काठमाडौं, साउन १४ । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नेपाली समाजमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक सहिष्णुता कायम राख्न आह्वान गर्दै एक सद्भाव सन्देश जारी गरेका छन्।
निर्मल निवासबाट जारी सन्देशमा नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गर्दै यही विविधताले नेपाली समाजको पहिचान र शक्ति निर्माण गरेको बताएका छन्। उनले नेपालीबीचको मेलमिलाप, आपसी सम्मान र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
सन्देशमा पछिल्लो समय देशका विभिन्न स्थानमा भएका अप्रिय घटना, द्वन्द्व र सामाजिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाले राष्ट्रिय एकता र सामाजिक सद्भावमा असर पार्न सक्ने उल्लेख गरिएको छ। उनले सबै नेपालीलाई संयमता अपनाउँदै शान्ति, सहिष्णुता र पारस्परिक विश्वास कायम राख्न आग्रह गरेका छन्।
पूर्वराजा शाहले राजनीतिक, सामाजिक तथा सांस्कृतिक मतभिन्नताका बाबजुद राष्ट्रिय हितलाई सर्वोपरि राख्दै संवाद र सहकार्यको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। साथै, प्राकृतिक विपद् लगायत कठिन परिस्थितिमा एकअर्काप्रति सहयोग र ऐक्यबद्धता प्रदर्शन गर्न पनि उनले आह्वान गरेका छन्।
सन्देशको अन्त्यमा उनले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिको भावनालाई थप मजबुत बनाउन आग्रह गर्दै “जय नेपाल” उल्लेख गरेका छन्।




