सप्तरी, साउन १५ । सप्तरी जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम राजविराज नगरपालिकाका केही संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी आदेशअनुसार, जिल्ला सुरक्षा समितिको बैठकको निर्णयको आधारमा आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यू लागू गरिएको छ।
आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कफ्र्यू जारी गरिएको उल्लेख गरिएको छ र तोकिएका क्षेत्रहरूमा कसैलाई पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा गर्न वा धर्ना दिन निषेध गरिएको छ।
प्रशासनका अनुसार कफ्र्यू लागू भएका क्षेत्रहरूमा पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडानी-ढलै सडक खण्ड, उत्तरमा रुपानी सडकको बसपिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका) रहेका छन्।
संवेदनशील अवस्थालाई मध्यनजर गर्दै र शान्ति सुरक्षा कायम राख्नका लागि कफ्र्यू आदेश जारी गरिएको स्पष्ट पार्दै प्रशासनले सर्वसाधारणलाई उक्त आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।




