काठमाडौं, साउन १७ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती र कोशी प्रदेशका प्रमुख सडक खण्ड अवरुद्ध भएका छन् भने केही स्थानमा सुरक्षा जोखिमका कारण रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत चारकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, इलामको मेची राजमार्ग पनि अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द रहेको छ।
बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्ड) मा दिउँसो २ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
यता, भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण अवरुद्ध भएको सडक भने हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
मौसम अझै प्रतिकूल रहेकाले प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने अवस्था भए त्यसको उपयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






