काठमाडौं, साउन १७ । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा निधन भएको छ। उनीसँगै अन्य नौ जना आरोहीको पनि ज्यान गएको जनाइएको छ। यो घटनाले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै स्तब्ध बनाएको छ।
उनले स्थापना गरेको अभियान कम्पनी एलिट एक्स्पेडले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्जाको निधन भएको पुष्टि गरेको हो। कम्पनीका अनुसार दुर्घटनामा उनका आरोहण सहयोगी तथा गाइड पूराबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको पनि मृत्यु भएको छ।
बिहीबार ब्रोड पिकमा हिमपहिरो गएपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको थियो। त्यसपछि सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानपछि उनको निधन भएको पुष्टि गरिएको हो।
निर्मल पुर्जा आधुनिक पर्वतारोहणका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्थे। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। यसअघि उक्त कीर्तिमान पूरा गर्न करिब आठ वर्ष लागेको थियो। उनको यो उपलब्धिलाई पर्वतारोहण इतिहासकै असाधारण सफलतामध्ये एक मानिन्छ।
म्याग्दीमा जन्मिएका पुर्जा पछि परिवारसँगै चितवन बसाइँ सरेका थिए। गुरखा सैनिकको पारिवारिक पृष्ठभूमिमा हुर्किएका उनले सन् २००३ मा ब्रिगेड अफ गुर्खाजमा सेवा सुरु गरेका थिए। सन् २००९ मा बेलायती रोयल नेभीको विशिष्ट स्पेसल बोट सर्भिसमा छनोट हुने पहिलो गुरखा बनेका उनी पछि स्पेसल एयर सर्भिससँग पनि आबद्ध रहे। सैनिक जीवनपछि उनले आफ्नो सम्पूर्ण ध्यान पर्वतारोहणमा केन्द्रित गरे।
सन् २०१२ मा लोबुचे हिमालबाट आरोहण यात्रा सुरु गरेका पुर्जाले २०१४ मा धौलागिरि र २०१६ मा सगरमाथाको सफल आरोहण गरेका थिए। सन् २०१७ मा उनले पाँच दिनभित्र सगरमाथा, ल्होत्से र मकालु हिमाल आरोहण गरेर अर्को कीर्तिमान कायम गरेका थिए। त्यसपछि विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने लक्ष्य पूरा गर्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण जगतमा नयाँ उचाइमा पुर्याएका थिए।
उनको निधनसँगै नेपाल शोकमा डुबेको छ। राजनीतिक नेतृत्व, पर्यटन क्षेत्र, पर्वतारोहण समुदाय, अन्तर्राष्ट्रिय समर्थक तथा विश्वभरका सञ्चारमाध्यमहरूले उनको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। धेरैले पुर्जाको साहस, समर्पण र नेपालको पहिचानलाई विश्वमञ्चमा स्थापित गर्न उनले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मल पुर्जा र अन्य आरोहीहरूको भौतिक यात्रा टुंगिए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैं जीवित रहने बताएका छन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, “पर्वतारोहण केवल शिखरमा पुग्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानव सीमाभन्दा माथि उठ्ने अठोटको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, तर कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि समेट्छ। यद्यपि पर्वतारोहीहरू आफ्नो साहस र समर्पणमार्फत अमर रहन्छन्।” उनले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
यस्तै, नेपाली काङ्ग्रेसका नेता गगन थापाले पाकिस्तानको ब्रोड पिकमा भएको दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निर्मल पुर्जा (निम्सदाइ) र उहाँसँगै ज्यान गुमाएका सबै आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
निम्सदाइको योगदानको स्मरण गर्दै थापाले भनेका छन् “विश्वले नाम सुन्नु र ‘प्रोजेक्ट पसिबल’ मार्फत इतिहास रच्नुअघि नै मैले उहाँलाई भेटेको थिएँ। कीर्तिमानभन्दा पनि नेपाली पर्वतारोहीहरूप्रति विश्वको दृष्टिकोण बदल्नु उहाँको सबैभन्दा ठूलो योगदान हो।” उनले निम्सदाइले नेपाली आरोहीहरू केवल सहयोगी मात्र नभई पर्वतारोहणको भविष्यलाई नयाँ दिशा दिने कुशल नेता र अग्रगामी नायक हुन् भन्ने सिद्ध गरेको बताए।
थापाले निम्सदाइसँगै ज्यान गुमाएका आरोहीहरू पुरबहादुर “युक्ता” गुरुङ, किली पेम्बा “किलु” शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा लगायत विदेशी आरोहीहरूलाई समेत स्मरण गर्दै उनीहरूको साहस, त्याग र सपनाको कदर गर्नुभएको छ। उहाँले मृतकका परिवारजन तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
निर्मल पुर्जाको निधनसँगै नेपालले एक विश्वप्रसिद्ध पर्वतारोही मात्र गुमाएको छैन, विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने एक प्रेरणादायी व्यक्तित्व पनि गुमाएको छ। उनका साहस, उपलब्धि र योगदानले आगामी पुस्ताका पर्वतारोहीलाई सधैं प्रेरित गरिरहने विश्वास गरिएको छ।




