काठमाडौं, साउन १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उनको रिहाइका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
प्रसाईंकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिट निवेदनमा उनले प्रसाईंको थुनालाई गैरकानुनी ठहर गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरेकी छिन्।
सर्वोच्च अदालतका अनुसार उनको यो रिट निवेदनमाथि मंगलबारका लागि पेसी तोकिएको छ।
प्रसाईंलाई आइतबार राति भक्तपुरको निकोसेराबाट प्रहरीले पक्राउ गरेको थियो भने हाल उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ। प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत भक्तपुरमा ७ दिनको म्याद माग गरेको छ।




