काठमाडौं, साउन २४ । सिंहदरबार वैद्यखानाको कारोबार चार गुणाले बढेको, उत्पादन १५० प्रकारका औषधिमा पुर्याउने र ३५ वटा निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको घोषणाप्रति पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले खुसी व्यक्त गर्दै आभार जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विगतमा आफूले अघि सारेका सुविचारित नीति तथा योजनाकै जगमा वैद्यखानाले गति लिएको दाबी गरे। उनले नसर्ने रोग ३० प्रतिशतले घटाउने १० वर्षे राष्ट्रिय आयुर्वेद रणनीति र २० वटा औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा दिलाउने जिएमपी मापदण्डसहितको ५ वर्षे रणनीतिक योजना लागू गरिएको स्मरण गराए।
आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै पूर्वमन्त्री पौडेलले बुढानीलकण्ठमा पञ्चकर्म तथा योग केन्द्र सञ्चालन, सुदूरपश्चिमबाट स्वर्ण बिन्दु प्राशन अभियानको सुरुवात र सेवा नपुगेका १४४ पालिकासहित देशभर नागरिक आरोग्य कार्यक्रम विस्तार गरिएको बताए। यसका लागि बजेट दोब्बर गरी १ अर्ब ४० करोड विनियोजन गरिएको, जिएमपी नीति कार्यान्वयनमा ल्याइएको, ड्रग आर एण्ड डी युनिट र वनस्पति प्राधिकरण स्थापना सुरु गरिएको तथा नरदेवी अस्पतालमा १०० शय्याका लागि स्रोत सुनिश्चित गरिएको उनले उल्लेख गरे। साथै, आयुर्वेद औषधि नियमावली २०८१ को मस्यौदा तयार पारिएको र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आयुर्वेद क्षेत्रको प्रस्तुतिसहित स्वास्थ्य बीमामा आबद्ध गर्न कस्टिङ अभ्यास सुरु गरिएको पनि उनले जानकारी दिए।
यसै सन्दर्भमा पौडेलले सरकारलाई ६ बुँदे महत्त्वपूर्ण सुझावसमेत पेस गरेका छन्। उनले वैद्यखानाको वर्तमान प्रगति ५ वर्षे रणनीतिक योजनाकै प्रतिफल भएकाले यसको पूर्ण कार्यान्वयन गर्न, जडीबुटी प्रशोधन केन्द्रलाई अनुसन्धानसँग जोड्न र ३५ प्रकारका निःशुल्क औषधि नागरिक आरोग्य केन्द्रमार्फत घरदैलोसम्म पुर्याउन आग्रह गरेका छन्। त्यसैगरी, जिएमपी मापदण्डपछि नेपाली औषधिको अन्तर्राष्ट्रिय निर्यातका लागि कूटनीतिक पहल गर्न, कच्चा पदार्थ खरिद व्यवस्थित गर्दै स्वदेशी जडीबुटी खेतीलाई प्रोत्साहन गर्न र विपन्नको पहुँचका लागि आयुर्वेद सेवालाई स्वास्थ्य बीमामा जोड्न उनले जोड दिएका छन्। असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्ने भन्दै पूर्वमन्त्री पौडेलले सरकारका सकारात्मक कदममा सदैव साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।




