काठमाडौं, साउन २६ । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसरमा नयाँ गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा ०.५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस योजनामा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर कायम हुने बैंकले जनाएको छ। आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुनेछ।
यस्तै, नयाँ विद्युतीय गाडी (ईभी) खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ।
नाइमा अटो एक्सपोमै बैंकले आफ्नो स्टल राखेर गाडी खरिद गर्न इच्छुक ग्राहकका लागि कर्जा प्रक्रिया अघि बढाउने व्यवस्था गरेको छ। ग्राहकले बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको उल्लेख गरेको छ।
हाल बैंकले देशका ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको जनाएको छ।




