चितवन, साउन ३१ । चितवनको राप्ती नगरपालिका–१, डिपाट बस्तीमा बाघको आक्रमणबाट एक ६० वर्षीय पुरुष घाइते भएका छन्। आइतवार बिहान स्थानीय बस्तीमा प्रवेश गरेको बाघले आक्रमण गर्दा ठाकुर अधिकारी घाइते भएका हुन्।
बिहान करिब ६:४० बजेको समयमा बस्तीमा छिरेको बाघले आक्रमण गर्दा अधिकारीको तिघ्रामा चोट लागेको छ। घाइते अधिकारीलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। साथै, सोही क्षेत्रकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत सो बाघले आक्रमण गर्दा गाई सामान्य घाइते भएको बताइएको छ।
मानव बस्तीमै वन्यजन्तु प्रवेश गरी आक्रमण गरेपछि स्थानीय बासिन्दाहरूमा ठूलो त्रास सिर्जना भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको विशेष टोली घटनास्थलमा परिचालन गरिएको थियो। निकुञ्जबाट खटिएको टोलीको खोजी तथा नियन्त्रण अभियानका क्रममा बिहान ११:२७ बजे सो बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको छ।




