काभ्रेपलाञ्चोक, भदौ १ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
आज बिहान पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथली क्षेत्रमा गुडिरहेको बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा जिपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टले घाइतेहरूको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन्। घाइतेहरूलाई एम्बुलेन्समार्फत बेथानचोक गाउँपालिका–५ स्थित कामीडाँडा खेलमैदानसम्म ल्याउने कार्य भइरहेको उनले बताए।
घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको भए पनि बाक्लो कुहिरोका कारण हेलिकप्टर तत्काल अवतरण गर्न नसकेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिए। उनका अनुसार मौसम अनुकूल हुनेबित्तिकै घाइतेहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि पठाउने प्रयास भइरहेको छ।
दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।




