काठमाडौं, भदौ २ । चारदिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहनुभएका भारतीय स्थल सेना प्रमुख धिरज सेठ र प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ बीच आज दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुँदैछ।
नेपाल र भारतबीचको परम्परागत सैन्य सम्बन्धअनुसार आइतबार काठमाडौं आउनुभएका सेना प्रमुख सेठले हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न ग्रहण गर्नुभएको थियो। दुवै देशले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने पुरानो प्रचलन रहिआएको छ।
यसअघि जंगी अड्डामा प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग शिष्टाचार भेट गर्नुभएका सेठले दुई देशबीचको सैन्य सहकार्य र आपसी हितका विषयमा छलफल गरिसक्नुभएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहनुभएका शाहसँगको आजको भेटपछि उहाँ भोलि (बुधबार) भारत फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि नेपाल भ्रमणमा आउनुभएको यो भारतको उच्च तहको पहिलो भ्रमण हो।




