काठमाडौं, भदौ २ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा गत साउनमा भएका झडप तथा हिंसात्मक घटनाबारे गठित दुवै छानबिन समितिले अध्ययन पूरा गरी सरकारलाई प्रतिवेदन बुझाएका छन्।
साउन १० गते सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछिका झडप तथा उपचारका क्रममा जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि मृत्यु भएको थियो।
घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको थियो भने सिरहाको लहानमा भएको प्रदर्शनका क्रममा गोली लागेर १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनापछि सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो। सुनसरीको कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा तथा सिरहाको गोलबजार/लहान घटनाबारे सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छानबिन गरिएको थियो। दुवै समितिले घटनाको कारण, क्षति तथा सुरक्षा व्यवस्थाको समीक्षा गरी सरकारलाई प्रतिवेदन बुझाएका हुन्।




