कलैया (बारा) भदौ ७ । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन्।
शनिबार साँझ ५:३० बजे घरअगाडि खेलिरहेको अवस्थामा अचानक बेपत्ता भएकी उनी आइतबार बिहान ५ बजे फेला परेकी हुन्। घरबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने कलैया–२६ सिसवा महेशपुरको सडक किनारमा रोइरहेको अवस्थामा स्थानीय महिला सल्मा नेशाले बालिकालाई देखेकी थिइन्। त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेकी हुन्।
बालिका बेपत्ता भएको खबर पाउनेबित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले रातभर खोजी कार्य तीव्र पारेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए।
उद्धारपछि बालिकालाई तत्कालै प्रादेशिक अस्पताल कलैया लगि स्वास्थ्य परीक्षण गराइएको थियो। चिकित्सकहरूका अनुसार बालिकाको शारीरिक अवस्था सामान्य रहेको पुष्टि भएपछि प्रहरीले उनलाई अभिभावकको जिम्मा लगाएको छ।
बालिका आफ्नै घरबाट त्यति टाढा कसरी पुगिन् भन्नेबारे यकिन हुन सकेको छैन। घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।




