काठमाडौं, भदौ ७ । गायिका जुनु प्रसाईको नयाँ गीत ‘झगडा पर्यो पोइसित’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। पूर्वेली लोकलयमा आधारित गीतको भिडियोमा प्रसाईसँगै प्रकाश सपुतको अभिनय रहेको छ।
विदुर तिमल्सिनाको शब्द, राज सागरको संगीत र राजन ईशानको एरेन्जमेन्ट रहेको गीतमा पूर्वी नेपालको लोकसंस्कृति, जन्मभूमि र मौलिक पहिचानलाई प्रस्तुत गरिएको छ।
हरि हुमागाईंले निर्देशन तथा निर्माण गरेको भिडियोको छायांकन काठमाडौंको फर्पिङमा गरिएको हो। रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक परिवेशलाई समेत समेटिएको छ।
पछिल्लो समय पूर्वेली लोक तथा आधुनिक लोकसंगीतमा केन्द्रित प्रसाईले नयाँ पुस्तासम्म लोकसंस्कृतिको स्वाद पुर्याउने उद्देश्यले गीत सार्वजनिक गरेकी हुन्।




