काठमाडौं, भदौ १० । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा खोज, उद्धार र राहत कार्यबारे छलफल भएको हो।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतका लागि सरकार पूर्ण रूपमा परिचालित रहेको बताएका छन्। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वयसमेत भइरहेको बताइएको छ।




