काठमाडौं, भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
बिहीबार बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा क्षतिको स्थलगत अवलोकन गर्नुभएको हो। निरीक्षणपछि उहाँको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय रहनुभएको थियो। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएका उहाँले समयको सीमाबीच आज नुवाकोटको विदुर र आसपासका प्रभावित क्षेत्रको प्रत्यक्ष अवस्थाबारे जानकारी लिनुभएको हो।
स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालसहितको टोलीले बाढीबाट भएको भौतिक क्षतिको अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाका कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाह नेतृत्वको टोली बिहीबार नै काठमाडौं फर्किएको हो।




