काठमाडौं, भदौ १४ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन मलेसिया पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालका बाढी तथा पहिरोपीडित नागरिकका लागि आर्थिक सहायताको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) बाट प्राप्त गर्ने आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका छन्।
मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला मैदानमा उच्च प्रदर्शन गर्दै देशवासीको मुहारमा मुस्कान ल्याउने लक्ष्यका साथ मलेसिया पुगेका लामिछानेले प्रतियोगिताभर नेपाली टोलीको प्रदर्शनसँग जोडेर थप सहयोग रकम जुटाउने नयाँ पहलको सुरुआतसमेत गरेका छन्। जसअनुसार एसीसी प्रिमियर कपका क्रममा नेपाली टोलीले लिने प्रत्येक विकेट र नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक चौका तथा छक्का (बाउन्ड्री) बापत उनले व्यक्तिगत तर्फबाट रु १,५०० का दरले रकम छुट्याउने घोषणा गरेका छन्।
मैदानको सफलतासँगै संकलन हुने यो सहयोग रकम बाढीबाट प्रभावित बालबालिकाहरूको शैक्षिक सामग्री व्यवस्थापनमा खर्च गरिनेछ। बाढीका कारण कुनै पनि बालबालिकाको भविष्य र सपना बगेर जान नदिने उद्देश्यका साथ यो अभियान सुरु गरिएको लामिछानेले बताएका छन्। स्वदेशबाट टाढा भए पनि आफ्नो ध्यान र हृदय नेपालमै रहेको उल्लेख गर्दै उनले मैदानमा लिइने हरेक विकेट र प्रहार गरिने हरेक बाउन्ड्री देशका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतियोगितामा नेपाली टोलीको हरेक सफलतासँगै पीडित बालबालिकाको सहयोग रकमसमेत थपिँदै जाने भएकाले सन्दीपको यो कदमको चौतर्फी प्रशंसा भइरहेको छ।




