काठमाडौँ। गत २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका व्यक्तिको पहिचान तथा खोजतलासका लागि नेपाल प्रहरीले परिवारजनसँग डीएनए नमुना उपलब्ध गराउन अनुरोध गरेको छ। बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तहरूलाई फेला परेका शव वा शरीरका अङ्गहरूसँग मिलान गरी पहिचान खुलाउन डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
हराइरहेका व्यक्तिको पहिचानका लागि मुख्य नातेदार अर्थात् बाबु, आमा, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाको ताजा रगतको नमुना आवश्यक पर्नेछ। नमुना संकलनका लागि २ प्रति पासपोर्ट साइजको फोटोसहित महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
साथै, विदेशमा रहेका परिवारका सदस्यहरूले बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाको विदेशमै डीएनए प्रोफाइलिङ गराई मिलानका लागि सोको Softcopy प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्नेछन्। थप जानकारी वा समन्वयका लागि प्रहरी निरीक्षक शम्भुबहादुर के.सी. (मोबाइल नं. ९८४१६१६०९५) लाई सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।




