काठमाडौं, भदौ १७ । भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापना कार्यलाई तीव्रता दिन एभरेष्ट बैंक लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ठूलो आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्ना तर्फबाट दुई करोड ५१ लाख रुपैयाँ र कर्मचारीहरूको व्यक्तिगत सहयोगबापत संकलित ६० लाख ५४ हजार छ सय पाँच रुपैयाँ ३८ पैसा गरी जम्मा ३ करोड ११ लाख ५४ हजार छ सय पाँच रुपैयाँ ३८ पैसा उक्त कोषमा जम्मा गरेको हो।
आर्थिक सहयोगका अतिरिक्त, बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक राहत सामग्रीहरू समेत सिधै विपद् प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ।
यस कठिन घडीमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहत कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी, स्थानीय तह र सबै सहयोगी हातहरूलाई बैंकले विशेष धन्यवाद ज्ञापन गरेको छ।




