रसुवा, भदौ १७ । रसुवासहित प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार अभियान तीव्र पारिएको छ। विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी तथा उद्धारका लागि नेपाली सेना, आयोजनाका कर्मचारी, स्थानीय तथा विदेशी प्राविधिकसहितका संयुक्त टोली परिचालन गरिएको छ।
रसुवागढी हाइड्रोपावरको सुरुङभित्र उद्धार टोली करिब १५० मिटरसम्म पुगे पनि ठूला चट्टानका कारण थप अगाडि बढ्न नसकेको जनाइएको छ। टोलीले आज पुनः खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोली परिचालन गरिएको छ। अपर त्रिशूली–१ को हाँकु क्षेत्रमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
त्रिशूली–३ ‘ए’ मा भने ९३ जनाको संयुक्त उद्धार टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो हटाउने काम गरेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको सहायताबाट सुरुङको आउटलेट पहिचान गरिएको छ। वर्षाका कारण राति सुरुङभित्र जम्मा भएको करिब १.५ मिटर पानी पम्पमार्फत बाहिर निकालिएको छ।
त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ६१, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ। उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरमार्फत बाटो निर्माण भइरहेको छ।
यसैबीच, प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती बढाइएको छ। स्थानीयवासीको अवस्था बुझ्नुका साथै सुरक्षा प्रत्याभूति दिने र थप उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने काम भइरहेको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा समेत खोज तथा उद्धार जारी छ।
टिमुरे क्षेत्रमा फेला परेका शवलाई त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसन सुरु गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कार्य समन्वयात्मक रूपमा गरिरहेका छन्। (स्राेतः नेपाली सेना)




