काठमाडौं, भदौ, १९ । प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज बिहान १० बजे टेलिफोनमा कुराकानी भएको छ। देश अहिले बाढीपहिरोको ठूलो संकटबाट गुज्रिरहेका बेला भएको यो संवादलाई प्रधानमन्त्री शाहले विशेष महत्त्वका साथ लिनुभएको छ।
कुराकानीका क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा अष्ट्रेलिया सरकारले देखाएको सहानुभूतिप्रति धन्यवाद दिनुभयो। विपद्को यस कठिन समयमा अष्ट्रेलियाले आर्थिक सहयोगका साथै राहत सामग्री, विज्ञ टोली र ड्रोन अपरेटर पठाएर उद्धारमा पुर्याएको मद्दतको उहाँले सराहना गर्नुभयो।
सो क्रममा प्रधानमन्त्री शाहले बाढीमा परेर हराइरहेका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो। दुई देशबीचको पुरानो सम्बन्धको चर्चा गर्दै उहाँले उद्धार, राहत र पुनःस्थापनाका काममा अष्ट्रेलियासँग निरन्तर सहकार्य रहने बताउनुभयो।
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले नेपालले भोग्नुपरेको यो ठूलो संकटप्रति चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाको तर्फबाट सक्दो सहयोग र सहकार्य जारी रहने आश्वासन दिनुभएको छ।




