काठमाडौं, भदौ २१ । काठमाडौंको ठमेलमा गत भदौ १८ गते पैदलयात्री युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा फरार ३० वर्षीय शालीन साह शनिवार कलंकीबाट पक्राउ परेका छन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि खोजीको सूचीमा रहेका साहले प्रहरी अनुसन्धानबाट बच्न आफ्नो लामो कपाल र दाह्री-जुँगा काटेर हुलिया परिवर्तन गरेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र प्रहरी वृत्त सोह्रखुट्टेको संयुक्त टोलीले उनलाई कलंकीस्थित तासिनडोल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रारम्भिक प्रक्रिया पूरा गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनलाई सम्बन्धित प्रहरी वृत्तमा पठाइएको छ।




