चितवन, भदौ २२ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा सडक विस्तार तथा माटो कटानको काम तीव्र बनाउन सवारी आवागमन आंशिक रूपमा रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले जारी गरेको सूचनाअनुसार भदौ २२ गतेदेखि दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न समयमा सवारी आवागमन रोकेर काम गरिनेछ।
सूचनाअनुसार बिहान ६–८, ८ः३०–१०ः३०, ११–१, दिउँसो १ः३०–३ः३० र ४–६ बजेसम्म सडक बन्द रहनेछ। बन्दको बीचमा करिब आधा घण्टाका लागि सवारी सञ्चालन गर्न सडक खुला गरिनेछ। साँझ ६ बजेपछि भने सडक नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
हाल मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम भइरहेकाले त्यसतर्फ सवारी आवागमन प्रभावित छ। यही अवस्थाका कारण सडकमा सवारीको चाप कम भएको समयको सदुपयोग गर्दै तुइन खोलामा माटो कटान तथा सडकसम्बन्धी काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ।
प्रशासनले यात्रु तथा चालकलाई तोकिएको समयतालिका हेरेर मात्र यात्रा गर्न र सडकमा अनावश्यक जाम तथा असहजता हुन नदिन सहयोग गर्न आग्रह गरेको छ।




