काठमाडौं, भदौ ३० । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा घोषणा गर्नुभएको समयसीमाभित्रै पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे भदौ १७ गते प्रतिनिधिसभालाई जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको थियो।
सरकारको सोही योजनाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि उक्त सडकखण्डमा परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ। आगामी असोज १ गते बिहीबारदेखि भने दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो।
घटनापछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग तथा नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो। विज्ञहरूले पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारेपछि भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो।
त्यसपछि करिब ३५ मिटर उचाइ र २० मिटरभित्रसम्म पहाड काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो। निर्माण कार्यमा प्राविधिकसहित करिब ५० जना जनशक्ति दैनिक १२ देखि १६ घण्टासम्म खटिएका थिए।
काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालनमा आएका छन्। हाल बिहान र बेलुका अत्यावश्यक सवारीसाधनलाई आवतजावतको व्यवस्था गरिएको छ।
अहिले नयाँ सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। भोलिसम्म ग्राभेलको काम सम्पन्न गर्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।




