चितवन, असोज १ । चितवनको भरतपुर महानगरपालिका–२, आँपटारीमा अवैध रूपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल अर्थात् कल बाइपास धन्दा चलाइरहेका २४ वर्षीय भारतीय नागरिक कथ्रम निथि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय, चितवनको संयुक्त टोलीले टेलिकम कम्पनीहरूको प्राविधिक समन्वयमा छापा मारी उनलाई ठूलो परिमाणका उपकरणसहित नियन्त्रणमा लिएको हो।
उनको साथबाट २६ थान मोबाइल, ल्यापटप, विभिन्न कम्पनीका ९५ थान सिमकार्ड, सीपीयू, मोडेम र राउटरलगायतका उपकरणहरू बरामद गरिएको छ। पक्राउ परेका उनीमाथि दूरसञ्चार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




